
मोरङ / मोरङकाे रंगेली नगरपालिकामा अपाङ्गता सम्बन्धी एकदिने सरोकारवाला निकायहरूसँग अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। रंगेलीस्थित तिरुपति बालाजी मन्दिर परिसरमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न अपाङ्ग संघ–संस्थाका प्रतिनिधिहरू, स्थानीय अगुवाहरू तथा अपाङ्ग समुदायका सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा अपाङ्ग संघ विराटनगरका फडिन्द्र राज बराल, रंगेली बहिरा सङ्घका अध्यक्ष चेत बहादुर बराल, रंगेलीकी गायत्री गौतम, स्थानीय समाजसेवी देव नारायण राजवंशी लगायत रंगेली नगरभित्र रहेका बहिरा समुदायका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।
अभिमुखिकरणका क्रममा सहभागीहरूले अपाङ्गता भएका व्यक्तिहरू अझै पनि समाजका विभिन्न क्षेत्रबाट उपेक्षित र अपहेलित हुनुपरेको गुनासो व्यक्त गरे। उनीहरूले स्थानीय तहबाट समेत विभिन्न कार्यक्रममा आफुहरूलाई समावेश नगरिएकोप्रति दुःख व्यक्त गर्दै रंगेलीमा पहिलोपटक यस्तो कार्यक्रम आयोजना भएकामा खुशी व्यक्त गरेका थिए।
रंगेली नगरपालिका र लुथरन कल्याण समाजको सहयोग तथा प्रगतिशिल अपाङ्ग संस्थानको आयोजनामा सम्पन्न कार्यक्रम सफल भएको आयोजक संस्थाले जनाएको छ।