साढे तीन हजार फरार भएका व्यक्ति पक्राउ पर्दा १४ करोड ७७ लाख जरिवाना असुल

विराटनगर । कोशी प्रदेशमा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भएर फरार भएका साढे तीन हजार भन्दा बढी व्यक्तिहरू पक्राउ गरी उनीहरूबाट १४ करोड ७७ लाख रुपैयाँ जरिवाना असुल गरेको छ ।

कोशी प्रदेशका १४ वटा जिल्लाका प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा तीन हजार ५१३ जना फरार प्रतिवादी पक्राउ गरेको जनाइएको छ ।

पक्राउ परेका प्रतिवादीहरूबाट अदालतले संलग्न मुद्दामा फैसला हुँदा तोकेको जरिवाना रकम असुल गरेको हो । नेपाल प्रहरीको कोशी प्रदेशका १४ जिल्लाका प्रहरी कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा एक हजार ४१६ जना फरार प्रतिवादीलाई पक्राउ गरेका थियो । त्यस्तै प्रादेशिक अनुसन्धान समूहले १५ जनालाई पक्राउ गर्न सफल भएको थियो ।

पक्राउ परेका कारण अदालतको फैसलाअनुसार एक करोड ५६ लाख ८७ हजार ९९३ रुपैयाँ जरिवाना असुल गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नारायण चिमरियाले जानकारी दिए ।

आव २०८१/८२ मा सुनसरी प्रहरीले एक हजार  दुई जना, झापाले ५३४, उदयपुरले २६०, इलामले १४६, ओखलढुंगाले ६९, धनकुटाले ५७, पाँचथरले ४२, ताप्लेजुङले ४८, तेह्रथुमले ४५, भोजपुरले ४४, संखुवासभाले २८, सोलुखुम्वुले १४ र खोटाङले ५३ जनालाई पक्राउ गरेको जनाइएको छ ।