

विराटनगर । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–२ कुलेखानी क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले विशेष सुचनाको आधारमा ६ हजार ४४३ एम्पुल लागुऔषध सहित चार भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
शनिवार कुलेखानी हुँदै काठमाडौंतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको स्कारपियो गाडी (BR 05 PA 9093) माथि शंकाका आधारमा रोकेर चेकजाँच गर्दा फल्स बटम बनाइ लुकाइछिपाई ल्याइएको लागुऔषध फेला परेको सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन बेस कुलेखानीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा भारतको मोतीहारी जिल्लाका ग्राम सुगौली, वडा नं. ११ का २४ वर्षीय शेख गुल्जार, सोही क्षेत्र वडा नं. ९ का २५ वर्षीय बसिम अहमद, वडा नं. ३ का १९ वर्षीय नेसाब आलम, र ४३ वर्षीय शेख सकुत रहेका छन् ।
प्रहरीका अनुसार उक्त गाडीको विभिन्न भागमा साना फल्स च्याम्बरहरू बनाएर डाईजेपाम २,२२६ एम्पुल, नुर्फिन २,३५६ एम्पुल, प्रोमेथाजिन हाईड्रोक्लोराइड १,८६१ एम्पुल र ट्रामाडोल ४९ ट्याबलेट लुकाइएका थिए ।
यी सबै लागुऔषधको प्रयोग विशेष गरी अवैध रूपमा सुई प्रयोग गरी लत लागेका प्रयोगकर्ताले गर्ने गरेका छन् । पक्राउ परेका चारै जना, गाडी र बरामद भएका लागुऔषधलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।