विद्युत प्राधिकरण कोशी कार्यालय ज्यालादारी कर्मचारीद्वारा घेराउ

विराटनगर ।  नेपाल विद्युत प्राधिकरणको कोशी प्रदेश कार्यालयमा सोमबार दैनिक ज्यालादारी कर्मचारीहरूले धर्ना दिएका छन्। आन्दोलनको नेतृत्व नेपाल विद्युत प्राधिकरण दैनिक ज्यालादारी कर्मचारी संघर्ष समिति, कोशी प्रदेश समितिले गरेको हो।

संघर्ष समितिका अध्यक्ष विनोद गनगाईंका अनुसार साउन १२ र १३ गते दुई दिनसम्म धर्ना कार्यक्रम जारी रहनेछ। उनले दैनिक ज्यालामा कार्यरत श्रमिकलाई मासिक तलबको आधारमा नियुक्ति गर्नुपर्ने माग अघि सारे।

२०७८ साउन ३१ गते बसेको नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको ९४९औं बैठकले देशभरका दैनिक ज्यालादारी श्रमिकलाई मासिक ज्यालामा रूपान्तरण गर्ने निर्णय गरेको थियो। तर सो निर्णय अझै कार्यान्वयनमा नआएकाले कर्मचारीहरूले चरणबद्ध आन्दोलन थालेका छन्।

सोमबारको घेराउ कार्यक्रममा केन्द्रीय उपाध्यक्ष सरिता दाहाल र कोशी प्रदेश अध्यक्ष गनगाईं नेतृत्वदायी भूमिकामा थिए।

प्राधिकरणको २०७६ सालको तथ्याङ्कअनुसार देशभर २,८१३ जना दैनिक ज्यालादारी कर्मचारी कार्यरत थिए। तीमध्ये केहीको मृत्यु भइसकेको, उमेर हद पार गरेर रिटायर भइसकेको वा वैदेशिक रोजगारमा गएका कारण संख्या घट्न सक्ने बताइएको छ।

हाल प्राधिकरणले दैनिक ज्यालामा कार्यरत श्रमिकलाई हाजिरीको आधारमा प्रतिदिन ७३५ रुपैयाँ तलब दिँदै आएको छ। तर संघर्ष समितिले उनीहरूलाई मासिक ज्यालादारीमा रूपान्तरण गरी न्यूनतम २५,७५० रुपैयाँ मासिक तलब दिनुपर्ने माग राखेको छ। यो रकम नेपाल विद्युत प्राधिकरणका तलब संरचनाअनुसार एक तहका कर्मचारीले पाउने न्यूनतम तलब बराबर हो।