देशभर मनसुनको प्रभाव, भारी वर्षाको सम्भावनासहित सतर्कता अपनाउन आग्रह

विराटनगर।हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास र पूर्वतर्फ सरदर स्थानभन्दा उत्तरमा अवस्थित रहेकाले मौसममा सक्रियता देखिएको हो।

महाशाखाका अनुसार हाल देशभर सामान्यतया बदली रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको जनाइएको छ।

दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका धेरै स्थानमा तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। बाग्मती प्रदेशका पहाडी भू-भागमा भने एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेको छ।

रातिको समयमा देशका पहाडी भू-भागमा सामान्यतया बदली रहनेछ भने तराई भू-भागमा आंशिक बदलीको अवस्था रहनेछ। पहाडी क्षेत्रका केही स्थान तथा तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले महाशाखाले सर्वसाधारण तथा सरोकारवाला निकायहरूलाई आवश्यक सतर्कता अपनाउन र मौसमसम्बन्धी पछिल्ला सूचनाको नियमित जानकारी लिन अनुरोध गरेको छ।