
विराटनगर । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल पुरुष राष्ट्रिय क्रिकेट टोलीको आधिकारिक जर्सी प्रायोजक बन्न इच्छुक कम्पनी तथा ब्रान्डहरूलाई दोस्रोपटक आवेदन दिन आह्वान गरेको छ।

क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार पहिलोपटक गत चैतमा सार्वजनिक रूपमा आवेदन खुला गरिएको थियो। तर निर्धारित २१ दिनको समयसीमाभित्र कुनै पनि आवेदन प्राप्त नभएकाले पुनः आवेदन खुलाइएको हो।
“त्यसबेला २१ दिनको म्याद थियो, तर कुनै पनि आवेदन प्राप्त नभएपछि फेरि खुलाएका हौं,” प्रवक्ता लामाले जानकारी दिए।
प्रायोजन सम्झौताअनुसार न्यूनतम वार्षिक रकम २ करोड रुपैयाँ तोकिएको छ। यो सम्झौता ३ वर्षका लागि हुनेछ, जसअनुसार हरेक वर्ष प्रायोजन रकममा १० प्रतिशत वृद्धि हुनेछ।
क्यानले आवेदन पेश गर्न चाहने कम्पनीहरू नेपाल सरकारको कानुनअनुसार मान्यता प्राप्त ब्रान्ड हुनुपर्ने शर्त राखेको छ। साथै, प्रस्ताव पेश गर्दा कम्पनीको आधिकारिक लेटरहेडमा हस्ताक्षर र छाप अनिवार्य गरिएको छ।
प्रस्ताव पेश गर्ने अन्तिम समय साउन १९ गते बिहान ११:०० बजेसम्म निर्धारण गरिएको छ। इच्छुक कम्पनीहरूले हार्डकपीमा मात्र प्रस्ताव पेश गर्नुपर्नेछ, जुन मुलपानीस्थित नेपाल क्रिकेट संघ (क्यान)को कार्यालयमा बुझाउनु पर्नेछ।