ब्राइट भिजन कलेजमा पहिलोपटक ‘नमूना अदालत’ प्रतियोगिता सम्पन्न

 

विराटनगर । कोशी प्रदेशमा पहिलोपटक ब्राइट भिजन ल कलेज, विराटनगरले आयोजना गरेको ‘नमूना अदालत’ (मुट कोर्ट) प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। तीन दिनसम्म चलेको प्रतियोगितामा कलेजका ७२ विद्यार्थी १८ समूहमा विभाजित भई प्रतिस्पर्धामा उत्रिएका थिए।

फाइनलमा लोकेश धाडेवा, प्रतिक गौतम, आकृति खनाल र मनिष सिग्देलको समूह विजेता घोषित भयो। दोस्रो स्थान रञ्जना घिमिरे, कृतिका ढकाल, अनुशा आचार्य र अमृता कटुवालको समूहले हासिल गर्दा तेस्रो स्थान अविशा निरौला, आयुशा राई, प्रश्रित ढकाल र प्रविण सापकोटाको समूहले प्राप्त गर्‍यो।

प्रतियोगितामा विद्यार्थीहरूले काल्पनिक मुद्दामा बहस गर्दै न्यायिक प्रक्रिया सिकेका थिए। निर्णायकको भूमिकामा उच्च अदालत विराटनगरका न्यायाधीशहरू केशवप्रसाद बास्तोला, कृपासुर कार्की, र वरिष्ठ अधिवक्ता शन्तिराम भण्डारी रहेका थिए।
कलेजका प्रमुख तथा वरिष्ठ अधिवक्ता चुडामणि आचार्यले नमूना अदालतजस्तो कार्यक्रम विद्यार्थीमा व्यवहारिक कानुनी ज्ञान वृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको जानकारी दिए। “यसले विद्यार्थीमा आत्मविश्वास, तर्कशक्ति र अनुसन्धान क्षमताको विकासमा टेवा पुर्‍याउँछ,” उहाँले बताए।

फाइनल कार्यक्रममा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराई प्रमुख अतिथिका रूपमा उपस्थित थिए। उनले प्रतियोगितालाई ‘इजलासजस्तै अनुभूति दिने’ बताउँदै, सहभागी विद्यार्थीहरू स्थापित कानुन व्यवसायीजस्तै देखिएको उल्लेख गरे।
विद्यार्थी नारायण चौलागाईंले कोशी प्रदेशमा पहिलोपटक यस्तो प्रतियोगिता आयोजना हुनु ऐतिहासिक भएको प्रतिक्रिया दिए।