
विराटनगर। चितवन र उदयपुरमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। मंगलबार भएको दुबै घटनामा करेन्ट लागी गम्भीर घाइते भएका व्यक्तिहरूको उपचारका क्रममा ज्यान गएको हो।

उदयपुरको त्रियुगा नगरपालिका–१० का ४५ वर्षीय रामकृष्ण धामीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। विद्युत्को खम्बामा चढेर लाइन बनाउने क्रममा करेन्ट लागेको र गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुरमा लगिएको थियो। तर, उपचारकै क्रममा उनको ज्यान गएको हो।
त्यसैगरी, चितवनको भरतपुर महानगरपालिका–१८, गुन्जनगरका ५० वर्षीय शेरबहादुर थापाको पनि करेन्ट लागेर निधन भएको छ। बारीमा पानी तान्ने पम्पमा लागेको आगो निभाउने क्रममा थापालाई करेन्ट लागेको थियो। गम्भीर घाइते भएका उनलाई तत्काल नयाँ मेडिकल कलेज, भरतपुर पुर्याइएको थियो तर उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
प्रहरीले दुवै घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।