रुसमा गएको भूकम्प इतिहासकै छैटौं शक्तिशाली

रुस।सुदूरपूर्वी रूसको कामचात्का पेनिनसुलामा गएको शक्तिशाली भूकम्पले जापानदेखि अमेरिकासम्म हलचल पैदा गरेको छ।

महासागरको १९ किलोमिटर गहिराइमा गएको ८.८ म्याग्नेच्युडको भूकम्पले कामचात्कामा पैदा गरेको सुनामी प्रशान्त महासागरभरि फैलिएको छ।

रूसको कामचात्कापछि जापान र अमेरिका मुख्य प्रभावित बनेका छन्।

रूसमा भूकम्पपछि ४ देखि ५ मिटरसम्मका सुनामी पैदा भएको थियो।

त्यसको ६ देखि ७ घन्टामा अमेरिकाको विभिन्न तटीय क्षेत्रमा सुनामी आएको द न्युयोर्क टाइम्सले  जनाएको छ।

अमेरिको विशेषगरी वाशिङ्टन, ओरेगन, उत्तर क्यालिफोर्निया, अलास्का, हवाई लगायतका क्षेत्रका तटीय क्षेत्रमा सुनामी आएको छ।

रूसमा भूकम्प गएपछि जापान र अमेरिकाले सुनामीको चेतावनी जारी गरेर तटीय क्षेत्रका मानिसहरूलाई सुरक्षित स्थानमा सर्न उर्दी जारी गरेको थियो।

त्यस्तै जापानले पनि तटीय क्षेत्रका झन्डै २० लाख मानिसहरूलाई सुरक्षित स्थानमा सर्न भनेको छ।

रूसमा गएको भूकम्प इतिहासकै छैटौं शक्तिशाली भूकम्प भनिएको छ।

सन् १९६० को मे २२ मा चिलीको भाल्दिभियामा गएको भूकम्प अहिलेसम्मकै शक्तिशाली भूकम्प हो। त्यो भूकम्पको तीव्रता ९.५ म्याग्नेच्युड थियो।

त्यस्तो १९६४ मा अमेरिकाको अलास्का केन्द्रबिन्दु बनाएर गएको ९.२ म्याग्नेच्युडको भूकम्प दोस्रो शक्तिशाली भूकम्प हो।

त्यसपछि २००४  डिसेम्बर २६ मा सुमत्रा-अन्डमान आइल्याण्ड केन्द्रबिन्दु बनाएर गएको ९.१ म्याग्नेच्युडको भूकम्प तेस्रो शक्तिशाली मानिन्छ।

२०११ कै मार्च ११ मा जापानको तोहकु केन्द्रबिन्दु बनाएर गएको ९.१ म्याग्नेच्युडको भूकम्प चौथो शक्तिशाली भूकम्प रहेको रेकर्ड छ।

पाँचौं शक्तिशाली भूकम्प पनि कामचात्काकै पश्चिम तटीय क्षेत्रमा १९५२ को नोभेम्बर ४ मा गएको थियो। त्यतिबेला भूकम्पको तीव्रता ९ म्याग्नेच्युड मापन भएको थियो।

त्यसपछि हिजो गएको भूकम्प इतिहासकै छैटौं शक्तिशाली रहेको अमेरिकी मिडिया सिएनएनले जनाएको छ।

१० शक्तिशाली भूकम्पः 

तीव्रता मिति केन्द्रबिन्दु
९.५ म्याग्नेच्युड १९६० मे २२ भाल्दिभिया, चिली
९.२ म्याग्नेच्युड १९६४ मार्च २८ ग्रेट अलास्का , अमेरिका
९.१ म्याग्नेच्युड २००४ डिसेम्बर २६ सुमत्रा-अन्डमान आइल्याण्ड, इन्डोसिया
९.१ म्याग्नेच्युड २०११ मार्च ११ तोहुकु, जापान
९.० म्याग्नेच्युड १९५२ नोभेम्बर ४ कामचात्का, रूस
८.८ म्याग्नेच्युड २०२५ जुलाइ २९ पेट्रोपावलोस्क-कामचतास्की, रूस
८.८ म्याग्नेच्युड २०१० फेब्रुअरी २७ मउला, चिली
८.८ म्याग्नेच्युड १९०६  जनवरी ३१ इक्वेडर-कोलम्बिया
८.७ म्याग्नेच्युड १९६५ फेब्रुअरी ४ र्‍याट आइल्याण्ड, अलास्का, अमेरिका
८.६ म्याग्नेच्युड १९५० अगस्ट १५ असाम, तिब्बत

स्रोत: सिएनएन