म्यानमारमा सैन्य सरकारले संकटकाल हटायो।

म्यानमार।म्यानमारमा चार वर्षअघि सत्ता कब्जा गरेको सैन्य सरकारले सङ्कटकाल हटाएको छ । सन् २०२१ को फेब्रुअरीमा आङ साङ सुकीको प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरेर आफ्नो नेतृत्वमा सरकार बनाएको सेनाले त्यही बेला सङ्कटकाल घोषणा गरेको थियो ।

यसअघि नै आउँदो डिसेम्बरमा चुनाव गर्ने घोषणा गरेको सैन्य सरकारले सङ्कटकाल पनि हटाएको बेलायती पत्रिका द गार्डियनले जनाएको छ । तर चुनावको मिति भने घोषणा भएको छैन ।

विपक्षी दलहरूले चुनावमा सहभागी नहुने बताएका छन् । अहिले म्यानमारको विधायिका, कार्यपालिका र न्यायपालिका सबै सेना प्रमुख मिन आङ ह्लाइङको प्रत्यक्ष नियन्त्रण रहेको छ । यस्तो अवस्थामा निष्पक्ष चुनाव हुन नसक्ने विपक्षीहरूको भनाइ छ ।

सेनाले कु गरेर सत्ता कब्जा गरेपछि शुरू भएको गृहयुद्धमा हजारौंको ज्यान गइसकेको छ । अहिले विद्रोही सेनाले कतिपय शहरहरू नै कब्जामा लिएका छन् । सैनिक सरकारले चुनवअघि हतियार त्यागेर राजनीतिक मूलधारमा फर्किनेलाई नगद पुरस्कार घोषणा पनि गरेको द गार्डियनको खबरमा उल्लेख छ ।

सैन्य सरकारले म्यानमारकी प्रजातन्त्रवादी नेत्री सुकीलाई विभिन्न आरोपमा झन्डै ३० वर्षको सजाय तोकेको छ । चार महिनाअघि हिरासतमै ८०औं जन्मदिन मनाएकी सुकी जीवनभर जेलमै रहनसक्ने विश्लेषकहरू बताउँछन् ।