
विराटनगर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा फेरबदल गरेको छ। सोमबार साँझ जारी गरिएको सूचनाअनुसार पेट्रोलको मूल्य घटाइएको छ भने डिजल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाइएको हो।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएर अब १५९ रुपैयाँ निर्धारण गरिएको छ। तर डिजल र मट्टितेलको मूल्य दुई रुपैयाँले बढाइएको छ, जसअनुसार अब प्रतिलिटर १५० रुपैयाँ पर्नेछ।
इन्धनको यो नयाँ मूल्य समायोजन आज राति १२ बजेदेखि लागू हुनेछ।
त्यस्तै, आन्तरिक उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएर १२८ रुपैयाँ पुर्याइएको छ। अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने इन्धनको मूल्य अमेरिकी डलर २१ ले वृद्धि गर्दै प्रति किलो लिटर १,०७७ डलर कायम गरिएको निगमले जनाएको छ।
निगमका अनुसार मूल्य समायोजन हालको अन्तर्राष्ट्रिय खरिद मूल्य, भन्सार शुल्क, ढुवानी खर्च तथा अन्य लागतका आधारमा गरिएको हो।
निगमले हालको दरमा पेट्रोलमा प्रतिलिटर १० रुपैयाँभन्दा बढी घाटा रहेको बताएको छ भने डिजल र मट्टितेलमा केही नाफा देखिएको जनाइएको छ।
यसबाहेक, एलपी ग्यासको मूल्यमा भने कुनै परिवर्तन गरिएको छैन। एक सिलिन्डर ग्यासको मूल्य १,८०० रुपैयाँमै यथावत् राखिएको छ।
पेट्रोल सस्तो हुँदा सवारी प्रयोगकर्तालाई केही राहत महसुस भए पनि डिजल र मट्टितेलको मूल्य वृद्धिले दैनिक उपभोग्य वस्तुको मूल्यमा असर पर्न सक्ने भन्दै उपभोक्ताहरूले चिन्ता व्यक्त गरेका छन्।
नयाँ मूल्य अनुसार देशभरका सबै डिपो तथा बिक्री केन्द्रबाट इन्धनको वितरण हुने निगमले जनाएको छ।