मेचीनगरमा स्कुल भ्यान दुर्घटना : १७ जना घाइते

विराटनगर । मेचीनगर नगरपालिका–९ स्थित खुट्टिडाँगीमा स्कुल भ्यान दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। आज बिहान विद्यार्थी बोकेर विद्यालयतर्फ जाँदै गरेको पारिजात पब्लिक स्कुलको भ्यान अनियन्त्रित भई सडकबाट पल्टिँदा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार, मे १ ज ३१०७ नम्बरको उक्त भ्यान आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको हो। भ्यान सानो भए पनि क्षमताभन्दा धेरै विद्यार्थी राखेर संचालन गरिएको थियो। दुर्घटनापछि भ्यान सडकबाट पल्टिएर खोल्सामा खसेको थियो।

दुर्घटनामा घाइते हुनेहरूमा ६ वर्षीया सबिस्का राई, ४ वर्षीया समिरा विशुङ्खे, १० वर्षीय आदित्य राई, ११ वर्षीया सदीक्षा काफ्ले, ११ वर्षीय सोहित राजवंशी, ११ वर्षीय आयान सुब्बा, ११ वर्षीय अनुराग तामाङ, १२ वर्षीया कृष्पा राई, १२ वर्षीय संयोग विशुङ्खे, १२ वर्षीया आयानी विक, ११ वर्षीय प्रनिस राई, ९ वर्षीय समर्पण राई, ६ वर्षीया सुसीता किसान, ६ वर्षीय तानसोना लिम्बू र ९ वर्षीय अङ्गु मगर रहेका छन्।

दुर्घटनामा विद्यालयका २४ वर्षीया शिक्षिका प्रिती शिवा र ४५ वर्षीय चालक गणेश श्रेष्ठसमेत घाइते भएका छन्। सबै घाइतेलाई सुरुमा मेची आम्दा अस्पताल लगिएको र चिकित्सकको सिफारिसअनुसार गम्भीर घाइतेहरूलाई विर्तामोडस्थित बीएण्डसी टिचिङ अस्पतालमा थप उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।

घटनापछि इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक पाण्डव राजवंशीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरीका अनुसार दुर्घटना भएको भ्यानको अगाडिको भाग पूर्णरूपमा क्षतिग्रस्त भएको छ। भ्यानलाई नियन्त्रणमा लिइएको छ भने घाइते सबैको अवस्था खतरामुक्त रहेको जनाइएको छ।

प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको छ।