काठमाडौं: चक्रे मिलनसहित १९ जना सात दिनका लागि प्रहरी हिरासतमा

विराटनगर । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आपराधिक गतिविधिमा संलग्न रहेको अभियोगमा पक्राउ परेका मिलन गुरुङ (चक्रे मिलन) सहित १९ जनालाई सात दिनसम्म प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंले संयुक्त रूपमा सञ्चालन गरेको ‘अप्रेसन’ अन्तर्गत गएराति ठमेल र महाराजगन्ज क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विश्वराज अधिकारीका अनुसार सार्वजनिक स्थानमा घरेलु हतियार बोकी समूह बनाएर होहल्ला गर्ने, समाजमा शान्ति सुरक्षा बिगार्ने, सार्वजनिक आवागमनमा अवरोध पुर्‍याउने तथा सर्वसाधारणमा त्रास फैलाउने कार्यमा संलग्न भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।

एसएसपी अधिकारीले भने, “उनीहरूलाई अभद्र व्यवहार गर्न नहुने कसुरअन्तर्गत सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।”

प्रहरीले प्रारम्भिक रूपमा ४७ जनालाई पक्राउ गरे पनि अनुसन्धानको क्रममा कतिपय व्यक्ति घटनासँग असंलग्न देखिएपछि २८ जनालाई छाडिएको र बाँकी १९ जनालाई हिरासतमा राखी अनुसन्धान अघि बढाइएको जनाइएको छ।

प्रहरीले यस किसिमका अपराधिक गतिविधिमा संलग्न हुनेलाई कानुनी दायरामा ल्याउनका लागि आगामी दिनमा पनि कडाइ गर्ने जनाएको छ।