
विराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी निकट भ्रातृ संगठन समाजवादी युवा संघ, नेपाल को केन्द्रीय समिति गठन तथा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय सचिवालयको बैठकले भेला गर्ने निर्णय गरेको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन्।
उनका अनुसार पार्टी महासचिव लालबाबु राउतले जिल्ला अध्यक्षहरूलाई पत्र पठाउँदै ३ जनाको दरले क्रियाशील र क्षमतावान युवाहरूको नामावली पठाउन आग्रह गरेका छन्। ४० वर्षमुनिका युवाहरूको नामावली साउन मसान्तसम्म पार्टीको केन्द्रीय कार्यालयमा पठाउन भनिएको छ।
बस्नेतका अनुसार, “समृद्ध मुलुक निर्माणमा युवा शक्तिको भूमिका अपरिहार्य भएकाले पार्टीले युवालाई एकताबद्ध गर्न राष्ट्रिय स्तरमै अभियान थालेको हो।” उनले पार्टीको भावी संगठन विस्तार र सबल संरचना निर्माणका लागि युवा सहभागिता आवश्यक रहेको बताए।
जसपाले यसअघि पनि विभिन्न भ्रातृ संगठनहरूको पुनर्गठन गर्दै आइरहेको छ। समाजवादी युवा संघको राष्ट्रिय भेला त्यसै शृंखलाको अर्को महत्वपूर्ण कदमका रूपमा लिइएको छ।