बागलुङका १२५ पानीका मुहानमा दिसाजन्य जीवाणु फेला, कोलिफर्म संक्रमणको जोखिम बढ्दो

विराटनगर । बागलुङ जिल्लामा खानेपानीका मुहानहरूमा दिसाजन्य जीवाणु (कोलिफर्म) भेटिने समस्या अझै समाधान हुन सकेको छैन। प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङले जिल्लाभरि परीक्षण गरेका ३४१ मुहानमध्ये १२५ वटा मुहानमा कोलिफर्म फेला परेको जनाएको छ।

सबैभन्दा बढी कोलिफर्म जैमिनी नगरपालिकामा देखिएको छ। त्यहाँ १०६ मुहानमध्ये ४२ मा कोलिफर्म भेटिएको ल्याब टेक्निसियन डिल्ली आचार्यले जानकारी दिए। गलकोट नगरपालिकामा ९१ स्थानमा परीक्षण गर्दा ४० मुहानमा, काठेखोला गाउँपालिकामा ४७ परीक्षणमध्ये २७, बडिगाड गाउँपालिकामा ६८ स्थानमा परीक्षण गर्दा १० वटा मुहानमा कोलिफर्म भेटिएको छ। बागलुङ नगरपालिकामा भने २४ मध्ये ४ वटा मुहानमा कोलिफर्म देखिएको हो।

त्यस्तै, ढोरपाटन नगरपालिकाका पाँचवटा मुहानमा कोलिफर्म भेटिएको छैन, भने निसीखोला, तमानखोला, ताराखोला र बरेङ गाउँपालिकामा परीक्षण नै गरिएको छैन।

आचार्यका अनुसार, “अघिल्लो वर्ष १०३ मुहानमा कोलिफर्म देखिएको थियो, यो वर्ष संख्या बढेर १२५ पुगेको छ।” जनस्वास्थ्य कार्यालयले सबै पालिकामा परीक्षण विस्तार गर्दै लैजाने जनाएको छ।

धवलागिरि प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किरण तिवारीका अनुसार, कोलिफर्म मिसिएको पानी पिउँदा झाडापखाला, हैजा, टाइफाइड, जण्डिस, हेपाटाइटिस बी, पिसाब तथा रगतको संक्रमण लगायत गम्भीर रोग लाग्न सक्ने खतरा हुन्छ। उनले यस्तो पानी उमालेर मात्रै प्रयोग गर्नुपर्ने सुझाव दिएका छन्।

जसबस पालिकामा सबैभन्दा बढी कोलिफर्म भेटिएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले समस्या समाधानका लागि मुहान सरसफाइ र संरक्षणमा पालिकाले ध्यान दिइरहेको बताए। उनले भने, “कोलिफर्म देखिएको मुहानलाई व्यवस्थित बनाउँदै जनचेतना फैलाइरहेका छौं।”

उनका अनुसार, पालिकाले ‘वास प्लान’ (WASH Plan) बनाएको छ र सोहीअनुसार साफ र शुद्ध पिउने पानीको पहुँच विस्तारमा काम भइरहेको छ।