देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

विराटनगर । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सामान्य अवस्थाको तुलनामा थोरै उत्तरतर्फ सरेको महाशाखाको जानकारी छ।

महाशाखाका अनुसार, आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। गण्डकी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भू-भागका धेरै स्थानहरूमा, साथै तराईका केही भागहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको पनि सम्भावना देखिएको छ।

त्यस्तै, आज राति पनि देशभर सामान्य बदली हुने अनुमान गरिएको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुन सक्ने मौसमविद्हरूले बताएका छन्।

मौसम महाशाखाले भारी वर्षाको सम्भावना रहेका प्रदेशहरूमा बासिन्दा तथा सरोकारवालाहरूलाई सावधानी अपनाउन र पछिल्लो मौसमी सूचना नियमित रूपमा अवलोकन गर्न अनुरोध गरेको छ।