दुहबीमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एकको मृत्यु, दुई गम्भीर घाइते

विराटनगर । सुनसरीको दुहबी नगरपालिका–२ पचिरामा शुक्रबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार राति करिब ९:१० बजे को६प ५२४१ नम्बरको मोटरसाइकल र को३२प १५०४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा गढी गाउँपालिका–२ का १८ वर्षीय नजामुदिन मियाँ गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङहोम लगिएको थियो, तर बेलुका १०:३० बजे उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

उक्त दुर्घटनामा मियाँसँगै पछाडि सवार १७ वर्षीय सबाद आलम घाइते भएका छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको छ।

त्यसैगरी, अर्का मोटरसाइकल चालक गढी गाउँपालिका–२ निवासी २२ वर्षीय विश्वजित चौधरी गम्भीर घाइते भएका छन्। उनी पनि विराट नर्सिङहोमको आकस्मिक कक्षमा उपचाररत छन्।

दुर्घटनापछि सोही मोटरसाइकलमा सवार महेश चौधरी भने फरार रहेको र उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।