नेपाली युवा सुनिल खड्काद्वारा गिनिज वर्ल्ड रेकर्ड तोडिँदै अन्तर्राष्ट्रिय कीर्तिमान

विराटनगर । नेपालका क्यालिस्थेनिक्स एथ्लेट सुनिल खड्काले विश्व कीर्तिमान तोड्दै गिनिज वर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ता गराएका छन्। उनले एक मिनेटमा ३२ क्ल्याप पुलअप गर्दै सन् २०१५ मा अमेरिकाका ब्लेक अगस्टिनले राखेको ३० क्ल्याप पुलअपको रेकर्ड तोडेका हुन्।

धादिङको गल्छी निवासी २५ वर्षीय खड्काले असार ७ गते (२१ जुन) ललितपुरस्थित बज्र ननिता फिटनेस सेन्टरमा आधिकारिक रेकर्ड प्रयास गरेका थिए। हालै गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले उनको कीर्तिमान प्रमाणीकरण गर्दै आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ।

उक्त रेकर्ड प्रयासको अवसरमा नेपाल युथ फिटनेस एण्ड क्यालिस्थेनिक्सका संस्थापक तथा अन्तर्राष्ट्रिय सर्टिफाइड स्ट्रेन्थ एन्ड कन्डिसनिङ स्पेशलिस्ट सुकदेव कार्की प्रमुख निर्णायकको रूपमा उपस्थित थिए।

सुनिलले यो सफलता सामान्य अभ्यासबाट होइन, पाँच वर्ष लामो अनुशासन र कठोर परिश्रमबाट प्राप्त गरेका हुन्। सन् २०२० मा क्यालिस्थेनिक्स सुरु गर्दा उनले सुरुमा तीनवटा पनि पुलअप गर्न नसकेको अनुभव सुनाउँदै अहिलेको उपलब्धिलाई ऐतिहासिक ठहर गरेका छन्।

क्ल्याप पुलअप अत्यन्तै कठिन र जोखिमपूर्ण व्यायाम हो। यसमा शरीरलाई बारबाट माथि तानेर हावामा ताली बजाएर फेरि बार समात्नु पर्छ। यसका लागि उच्च शक्ति, गति, नियन्त्रण र समन्वय आवश्यक पर्छ।

“नेपालको झण्डा लिएर म विश्व सामु उभिन पाउँदा म भन्दा बढी मेरो देशप्रति गर्व महसुस भयो,” सुनिल भन्छन्, “यो केवल मेरो व्यक्तिगत उपलब्धि होइन, सम्पूर्ण नेपाली युवाहरूको जित हो।”

पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट एयरोस्पेस इन्जिनियरिङमा स्नातक गरेका सुनिल प्रमाणित पर्सनल ट्रेनर पनि हुन्। उनी फिटनेस प्रशिक्षकका रूपमा युवाहरूलाई मार्गदर्शन गरिरहेका छन्।

सुनिलले सन् २०२४ मा भारतको मुम्बईमा आयोजित एशियन क्यालिस्थेनिक्स च्याम्पियनसिपमा एक स्वर्ण र एक रजत पदक जितेर नेपाललाई गौरवान्वित गराएका थिए। उनले यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको सफल प्रतिनिधित्व गरिसकेका छन्।