
विराटनगर । नेपाली बजारमा आइतबार सुनको मूल्य एकैदिनमा तोलामा ३ हजार ४ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ९६ हजार ५ सय रुपैयाँ पुगेको छ।
अघिल्लो कारोबार दिन शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार १ सय रुपैयाँ थियो। यसरी एकैदिनमा सुनको भाउमा उल्लेख्य वृद्धि भएको हो।
यो मूल्य वृद्धि पछिल्लो समयकै उच्च वृद्धिमध्ये एक हो। यद्यपि वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९७ हजार ९ सय रुपैयाँमा पुगेको थियो।
त्यस्तै, आइतबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ। शुक्रबार प्रतितोला २,२३५ रुपैयाँमा कारोबार भएको चाँदी आज २,२५० रुपैयाँमा पुगेको छ।
सुन र चाँदीको मूल्यमा आएको यो उकालो वृद्धि अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि असर देखिएको व्यवसायीहरू बताउँछन्।