
रङ्गेली । मोरङको रङ्गेली नगरपालिका–३ स्थित निशानथानमा स्थापना भएको सरस्वती निम्न माध्यमिक विद्यालय मर्ज प्रक्रियापछि दुई वर्षदेखि बेवारिसे अवस्थामा पुगेको छ।

२०२५ सालमा स्थानीय बासिन्दाहरूको लगानी र श्रमबाट स्थापना गरिएको यो विद्यालयले गरिब तथा विपन्न परिवारका बालबालिकाहरूलाई शिक्षाको अवसर दिन थालेको थियो। तर नेपाल सरकारको विद्यालय मर्ज नीति लागू भएसँगै रत्न माध्यमिक विद्यालयमा समायोजन भएपछि सरस्वती विद्यालय बन्द गरिएको हो।
स्थानीय नवराज थापाका अनुसार प्रारम्भिक अवस्थामा विद्यालयमा कक्षाकोठाको अभावले विद्यार्थीहरूलाई विद्यालयको चौरमा राखेर समेत पढाइने गरिएको थियो। “दुई वर्षअघि यहाँ दुई जना मात्रै विद्यार्थी आउन थालेपछि नगरपालिकाले उनीहरूलाई नजिकैको रत्न माध्यमिक विद्यालयमा स्थानान्तरण गर्यो,” नगरपालिकाको शिक्षा शाखाका एक कर्मचारीले जानकारी दिए।
विद्यालय बन्द भएयता यहाँका कक्षाकोठा, फर्निचर र शौचालयहरू जीर्ण र बेवारिसे अवस्थामा पुगेका छन्।
पूर्व उपमेयर केशब कुमारी खरालले स्थानीय जनताले आफूलाई चुनावमा भोट नदिएकै कारण सरकारले यो स्थानप्रति उपेक्षा गरेको आरोप लगाइन्। त्यस्तैगरी, रङ्गेली–३ कै दक्षिण टोलस्थित अर्को सार्वजनिक आधारभूत विद्यालय पनि मर्ज भएसँगै उस्तै अवस्थामा पुगेको छ।
वडा अध्यक्ष भरत प्रसाईंका अनुसार मर्ज भएका विद्यालयहरूको संरक्षण र उपयोगका लागि योजना बनाउन पहल भइरहेको छ। “त्यस स्थानलाई अन्य उपयोगी काममा प्रयोग गर्ने तयारी भइरहेको छ,” उनले बताए।
स्थानीयहरूका अनुसार निजी विद्यालयहरूको संख्या बढ्दै जाँदा र शिक्षकहरूको राजनैतिक प्रभाव बढेसँगै सामुदायिक विद्यालयहरूको अवस्था दिनानुदिन खस्कँदै गएको छ। “जबसम्म शिक्षकहरूले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमै पढाउने नीति नआउँछ, तबसम्म यस्ता विद्यालयहरूको अस्तित्व संकटमा पर्नेछ,” उनीहरूको धारणा छ।