एभरेष्टका विद्यार्थीद्वारा संयुक्त राष्ट्रसंघको महासभाको अभ्यास गरिँदै

विराटनगर  । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुल तथा कलेजका विद्यार्थीहरूले ‘प्रथम एभरेष्ट नमुना संयुक्त राष्ट्रसंघ महासभा’को अभ्यास गर्ने भएका छन्। विद्यार्थीहरूको नेतृत्व र व्यक्तित्व विकासका लागि साउन २१, २२ र २३ गते तीन दिने अभ्यास कार्यक्रम आयोजना गर्न लागिएको हो।

पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै कार्यक्रम संयोजक इशल भट्टराईले कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईको प्रमुख आतिथ्यमा महासभाको उद्घाटन हुने जानकारी दिनुभयो।

कक्षा ८ देखि १२ सम्मका २ सय विद्यार्थी विभिन्न ६ वटा समितिमा विभाजित भई विभिन्न देशका प्रतिनिधिका रूपमा सहभागी हुनेछन्। ती समितिहरूमा संयुक्त राष्ट्रसंघको साधारण सभा, मानवअधिकार परिषद्, विश्व स्वास्थ्य संगठन, वातावरण कार्यक्रम, सार्क र अन्तर्राष्ट्रिय प्रेस समावेश छन्।

छलफलका प्रमुख विषयहरूमा निशस्त्रीकरण, मानवअधिकार, कोभिड–१९ पछिको मानसिक स्वास्थ्य, दिगो कृषि, विपद् तयारी र पत्रकारिताको अभ्यास समावेश छन्। हरेक समितिमा ३३ जना प्रतिनिधि सहभागी हुनेछन् भने नेपाल र भारतका मध्यस्थकर्ताहरूले सहजीकरण गर्नेछन्।

कार्यक्रमले विद्यार्थीहरूमा अन्तर्राष्ट्रिय कूटनीति, नीति निर्माण र समस्या समाधान सीपको विकास गर्नुका साथै सहकार्य, समन्वय र प्रतिस्पर्धा गर्ने क्षमता अभिवृद्धिमा टेवा पुर्‍याउने संयोजक भट्टराईले बताए।

कार्यक्रमका संरक्षक प्रिन्सिपल टिकाराम पुरी रहेका छन् भने ग्लोबल हेल्प फाउण्डेसनले प्राविधिक र व्यवस्थापकीय सहजीकरण गर्ने जनाएको छ।