
विराटनगर । देशभर मनसुनी प्रभाव सक्रिय रहेकाले सातै प्रदेशमा आज (सोमबार) हल्कादेखि धेरै भारी वर्षासम्मको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ भने अधिकांश स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। विशेषगरी कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।
रातिको समयमा पनि मौसम बदली नै रहनेछ। कोसी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ।
विभागले वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना औंल्याउँदै सतर्कता अपनाउन आग्रह गरेको छ। यस्तो वर्षाले पहिरो, बाढी तथा नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले जनजीवन प्रभावित हुने खतरा रहेको विभागले जनाएको छ।
हाल मनसुनी वायुको प्रभाव देशभर सक्रिय रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको तुलनामा केही उत्तरतर्फ सरेर नेपालको तराई नजिक आइपुगेकाले वर्षाको गतिविधि थप सक्रिय भएको हो।
विभागले सम्भावित जोखिम क्षेत्रका बासिन्दा, विशेष गरी नदी किनार, डाँडाकाँडा तथा पहिरोप्रवण क्षेत्रहरूमा बसोबास गर्नेलाई सतर्क रहन, आवश्यक तयारी गर्न तथा सूचनालाई ध्यानपूर्वक मनन गर्न अनुरोध गरेको छ।