
विराटनगर। मोरङ जिल्लाका दुई फरक स्थानमा दुईजना पुरुष मृत अवस्थामा फेला परेका छन्। उर्लाबारी नगरपालिका–२ र बेलबारी नगरपालिका–७ मा भएको घटनाको कारण अझै खुलेको छैन भने दुवै घटनामा प्रहरीले अनुसन्धान जारी राखेको छ।
उर्लाबारी नगरपालिका–२ का २५ वर्षीय सुशील लिम्बू मंगलबार बिहान घर नजिकैको धानखेतमा मृत अवस्थामा फेला परेका हुन्। इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार, लिम्बूको दायाँ नाकबाट रगत बगेको र हातखुट्टा कठ्यांग्रिएको अवस्थामा शव भेटिएको हो।
प्रहरीले कानुनी प्रक्रिया पूरा गरी लिम्बूको शव मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा पोस्टमार्टमका लागि पठाएको छ। घटनाको थप अनुसन्धान प्रहरी निरीक्षक रन्जन बरालको टोलीले गरिरहेको छ।
त्यस्तै, बेलबारी नगरपालिका–७, गिरी टोलका ४१ वर्षीय डमरु ऋषिदेव सोमबार साँझ आफ्नै धानखेतमा मृत फेला परेका छन्। उनी युरिया मल छर्न खेतमा गएका थिए। इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्रीका अनुसार, ऋषिदेवको शव घोप्टो परेको अवस्थामा भेटिएको हो।
दुवै घटनामा मृत्युको कारण सुनिश्चित भइसकेको छैन। प्रहरीका अनुसार, शव परीक्षण र घटनास्थलको प्रारम्भिक अनुसन्धानपछि मात्र वास्तविक कारण खुल्नेछ।