देशभर मनसुनी प्रभाव सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना

विराटनगर। हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराई नजिक अवस्थित छ, जसका कारण देशभर सामान्यदेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार अहिले मधेश प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान, कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

कोशी र मधेश प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना।

गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान, बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

रातिको मौसम पूर्वानुमान

देशभर साधारणतया बदली रहनेछ।

कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी भागका थोरै स्थानहरूमा मध्यम वर्षा हुन सक्नेछ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार आगामी केही दिन मधेश प्रदेशसहित देशभर मनसुन सक्रिय रहने देखिएकाले सर्वसाधारण तथा सम्बन्धित निकायहरूलाई सावधानी अपनाउन र पछिल्लो मौसमी जानकारीमा अपडेट रहन अनुरोध गरिएको छ।