
विराटनगर । जल तथा मौसम विज्ञान विभागले बुधबारसम्म मुलुकका छवटा प्रमुख नदीमा बाढीको उच्च जोखिम रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। विभागले पूर्व राप्ती, बाग्मती, महाकाली, कर्णाली, भेरी र पश्चिम सेतीलगायतका नदीमा जलसतह बढ्ने पूर्वानुमान गर्दै सावधानी अपनाउन अनुरोध गरेको हो।
विभागका बाढीविद् विनोद पराजुलीका अनुसार आज मध्याह्नतिर बबई नदीमा पानीको सतह खतराको तह नाघे पनि त्यसपछि क्रमशः घट्न थालेको छ।
उनका अनुसार, “बबई नदीमा ५.५ मिटर चेतावनीको तह र ६.८ मिटर खतराको तह मानिन्छ। आज मध्याह्नसम्म जलसतह ७.१ मिटर पुगेको थियो तर दिउँसो ३ बजेदेखि घटेर ६.६२ मिटरमा आइपुगेको छ।”
बाढीको उच्च जोखिम रहेका क्षेत्रहरूमा पूर्वसूचना प्रवाह भइरहेको जानकारी दिँदै पराजुलीले काभ्रेपलान्चोक, मकवानपुर, दाङ, बाँके, चितवन, कैलाली, कञ्चनपुर र आसपासका जिल्लाका स–साना नदीहरूमा पनि बहाव उल्लेखनीय रूपमा बढ्न सक्ने र आकस्मिक बाढीको सम्भावना रहेको जनाए।
विभागले नदी आसपासका बासिन्दा, सुरक्षाकर्मी, स्थानीय प्रशासन तथा सम्बन्धित सबै पक्षलाई विशेष सतर्कता अपनाउन तथा सम्भावित जोखिमबाट बच्न पूर्वतयारी राख्न अनुरोध गरेको छ।