
विराटनगर । कोशी प्रदेशका तीन जिल्लामा ट्रान्सफर्मर चोरी गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रदेश प्रहरी कार्यालय विराटनगरले आइतबार पत्रकार सम्मेलन गर्दै मोरङ, सुनसरी र झापामा गरिएको संयुक्त अपरेसनमा १२ जना पक्राउ परेकाे जानकारी दिएको छ।
गत माघ १५ यता मोरङका ८ स्थान, सुनसरीका १२ र झापाका २ स्थानबाट गरी कुल २२ वटा ट्रान्सफर्मर चोरी भएको थियो। प्रहरीले घटनामा संलग्न ७ जना प्रत्यक्ष चोर र ५ जना चोरीको सामान किन्ने व्यापारीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेका चोरहरूमा मोरङको ग्रामथान गाउँपालिका–४ का ४२ वर्षीय अर्जुनकुमार माझी (चौधरी), ग्रामथान–५ का ३१ वर्षीय इरज धामी, सुनसरी दुहबी नगरपालिका–३ का ३५ वर्षीय अनुज विश्वास (चौधरी), दुहबी–२ का ३९ वर्षीय प्रयाग कुमार खाँ चौधरी, मोरङको बेलबारी–४ का २६ वर्षीय अर्जुन चौधरी, बेलबारी–३ का २७ वर्षीय रञ्जित तामाङ, र भारतको बासिन्दा तर हाल दुहबी–४ स्थित ससुरालीमा बस्दै आएका ३४ वर्षीय आलम मिया रहेका छन्।
चोरी भएका सामान खरिद गर्नेहरूमा विराटनगर महानगरपालिका–३ का ५३ वर्षीय लक्ष्य प्रधान, वडा नं ६ का ६२ वर्षीय कृष्णगोपाल ताम्राकार, दुहबी–३ का ३२ वर्षीय योगेश अग्रवाल, दुहबी–२ का ३१ वर्षीय कपिल भट्ट, र इटहरी उपमहानगरपालिका–४ का ३९ वर्षीय सिताराम राई परेका छन्।
प्रहरीका अनुसार, गिरोहले मुख्यतः कृषि प्रयोजनमा प्रयोग हुने तथा एकान्त स्थानमा रहेका ट्रान्सफर्मरहरू चोरी गर्दै आएको थियो। चोरी भएका २२ वटा ट्रान्सफर्मरको मूल्य करिब २ करोड रुपैयाँ बराबर रहेको प्रहरीको भनाइ छ।
प्रहरीले उनीहरूबाट चोरीमा प्रयोग गरिएका डायल रेन्च २२ थान, सलाई रेन्च ३ थान, पेचकस ३ थान, छिनो, कैची, साङली र ह्याक्सो ब्लेडलगायतका औजारहरू र ६ वटा मोटरसाइकल समेत बरामद गरेको छ।
गिरोहको सुराकी साउन ९ गते मोरङको रंगेली नगरपालिका–९, इटाभट्टा टोलमा ट्रान्सफर्मर चोरी गर्न गएका अर्जुनकुमार थारु पक्राउ परेपछि लागेको थियो। त्यही आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाउँदै गिरोहका अन्य सदस्यहरूलाई पनि नियन्त्रणमा लिएको हो। अनुसन्धानका लागि प्रदेश प्रहरी र सम्बन्धित जिल्ला प्रहरी कार्यालयको संयुक्त टोली खटिएको थियो।
प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।