एएफसी यु–२० एसियन कप छनोटमा नेपाल आज भुटानसँग प्रतिस्पर्धा गर्दै

विराटनगर । एएफसी यु–२० महिला एसियन कप २०२٥ छनोट प्रतियोगिताको १२औं संस्करणअन्तर्गत नेपाल र भुटानबीच आज प्रतिस्पर्धा हुँदैछ।

नेपाली महिला यू–२० टोलीले बुधबारको पहिलो खेलमा घरेलु टोली भुटानसँग प्रतिस्पर्धा गर्न लागेको हो। खेल भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा नेपाली समय अनुसार साँझ ५:४५ बजे सुरु हुनेछ।

नेपाल र भुटानबीचको पछिल्लो भेट साफ यु–२० च्याम्पियनसिपमा भएको थियो। दुई साता अघि बंगलादेशको ढाकामा सम्पन्न उक्त प्रतियोगितामा नेपालले भुटानसँग दुई पटक प्रतिस्पर्धा गर्दै दुबै खेलमा विजय हासिल गरेको थियो। नेपालले ती खेलमा भुटानी पोस्टमा १४ गोल गर्दा, मात्र १ गोल खाएको थियो।

नेपाल समूह ‘ए’ मा परेको छ, जहाँ उसले भुटानपछि साउदी अरेबिया र तीन पटकको विश्वकप विजेता उत्तर कोरियासँग प्रतिस्पर्धा गर्नेछ। उत्तर कोरिया एएफसी एसियन कप र फिफा विश्वकप दुवैको पूर्व विजेता राष्ट्र हो, जससँगको प्रतिस्पर्धा नेपालका लागि कठिन चुनौती बन्न सक्छ।

यस खेलमार्फत नेपाली टोलीले सफल सुरुआत गर्ने लक्ष्य लिएको छ। प्रशिक्षक तथा खेलाडीहरूले भुटानविरुद्ध पुनः जित निकाल्ने विश्वास व्यक्त गरेका छन्।