
विराटनगर । अविरल वर्षासँगै खसेको पहिरोका कारण बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग आज बिहानैदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ।
सिगास गाउँपालिका–९ रमिलापुरमा सडकमा ठूलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बलराम पाण्डेयले जानकारी दिएका छन्।
राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ, जसका कारण यात्रुहरू बाटोमै अलपत्र परेका छन्। लामो दूरीका यातायात साधनहरू बिच बाटोमै रोकिएका छन् भने स्थानीय यातायात सेवामा समेत अवरोध पुगेको छ।
प्रवक्ता पाण्डेयका अनुसार, जयपृथ्वी राजमार्गमा बेलाबेलामा पहिरो खस्ने घटना भइरहने भए पनि यसपटकको पहिरोले ठूलो अवरोध पुर्याएको छ। राजमार्ग खुलाउने प्रयास जारी रहेको र सडक खुलाउन डोजर परिचालनको तयारी भइरहेको प्रहरीले जनाएको छ।
स्थानीय प्रशासनले यात्रुहरूलाई आवश्यक सावधानी अपनाउन र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।