देशभर मनसुनी प्रभाव सक्रिय, कोशी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

विराटनगर । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेष गरी कोशी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभागमा अवस्थित रहेको छ, जसको असरले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा अधिकांश स्थानमा बदली देखिएको छ भने बाँकी भूभागमा सामान्य बदली रहेको छ।

यसैबीच, मधेस प्रदेशका एक–दुई स्थानमा, साथै अन्य प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो विशेष गरी कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा अधिकांश स्थानमा बदली रहनेछ भने केही स्थानहरूमा मध्यमदेखि भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ।

आज राति पनि देशभर सामान्यतया बदली रहने पूर्वानुमान गरिएको छ।

विशेषगरी:

कोशी र मधेस प्रदेशका केही स्थानहरूमा

बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा

बाँकी प्रदेशका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

यस्तो अवस्थामा सडक तथा हवाई यातायात, स्वास्थ्य र दैनिक जनजीवनमा असर पर्न सक्ने भएकाले महाशाखाले सावधानी अपनाउन, आवश्यक सतर्कता राख्न नागरिकहरूलाई आग्रह गरेको छ।