
विराटनगर । रामेछाप नगरपालिका–४, हिमगंगामा एक युवकको हत्या भएको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार २९ वर्षीय लवकुमार थापामगरको मंगलबार साँझ ६ बजेतिर आफ्नै कोठामा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो।
हत्या आरोपमा प्रहरीले लवकुमारका भिनाजु ५० वर्षीय विनोदकुमार यसमालीलाई पक्राउ गरेको छ। घटनापछि फरार रहेका उनलाई प्रहरीले मध्यराति रामेछाप–५, रामपुर कोलन्जोरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी भोला भट्टले जानकारी दिए।
‘उनी घटनास्थलबाट फरार थिए, पछि रामपुर कोलन्जोरबाट पक्राउ गर्यौं,’ डिएसपी भट्टले भने, ‘उनको केही आपराधिक पृष्ठभूमि पनि देखिएको छ, त्यसबारे थप अनुसन्धान भइरहेको छ।’
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धानका लागि जिल्ला अदालत रामेछापबाट १० दिनको म्याद थप गरी उनलाई हिरासतमा राखेको छ
हत्या भएको वास्तविक कारण र घटनाका अन्य पक्षबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।