‘बलिदान’ सिनेमा दशैँको फूलपातीमा रिलिज हुँदै, चार मुख्य पात्रको पोस्टर सार्वजनिक

विराटनगर । यस वर्षको वडा दशैँको फूलपातीको अवसरमा प्रदर्शनमा आउन लागेको बहुप्रतीक्षित नेपाली सिनेमा ‘बलिदान’ ले आफ्नो प्रचार अभियानलाई तीव्र बनाउँदै चार मुख्य पात्रहरूको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ। बुधवार सार्वजनिक गरिएका पोस्टरमार्फत अभिनेता अर्पण थापा, अभिनेत्री ऋचा शर्मा, अभिनेता हेमन्त बुढाथोकी र निर्देशक तथा कलाकार सन्तोष सेनको भूमिकालाई पहिलोपटक सार्वजनिक गरिएको हो।

सिनेमाका निर्देशक सन्तोष सेनका अनुसार, टिजर सार्वजनिक हुनुअघि कथामा विशेष प्रभाव पार्ने यी पात्रहरूलाई दर्शकमाझ प्रस्तुत गरिएको हो। पोस्टर सार्वजनिक गर्दै सेनले भने, “यी तस्बिरहरू केवल पोस्टर होइनन्, यी पात्रहरू ती पात्रहरू हुन्, जो हाम्रो समाजका कुनाकाप्चामा लुकेको आवाज हुन्।”

सिनेमामा फरक र प्रभावशाली भूमिकामा देखिएका अभिनेता हेमन्त बुढाथोकी नेपाली सिने जगतमा सयौँ चलचित्रमा खलनायकको भूमिकामा परिचित छन्। निर्देशक सेनका अनुसार, “हेमन्तको भूमिकाले पर्दामा मात्र होइन, कथाको हड्डी नै काँप्छ।”

यस्तै, संवेदनशील र गहिरा भूमिकामा आफूलाई प्रमाणित गरिसकेका अभिनेता अर्पण थापालाई निर्देशकले यस्तो पात्रका रूपमा प्रस्तुत गरेका छन्, “जसको आँखाबाट नै शब्दहरू बोल्छन् र जसको पीडा, विद्रोह र सत्यता दर्शकले महसुस गर्नेछन्।”

अभिनेत्री ऋचा शर्मा सिनेमामा एक फरक तरिकाले समाजको प्रतिनिधित्व गर्ने भूमिकामा देखिनेछिन्। निर्देशक सेन भन्छन्, “उनी प्रत्येक संवादमा जीवनको असल मर्म उजागर गर्ने पात्र हुन्।”

निर्देशक सन्तोष सेन स्वयं पनि यस सिनेमामा एक प्रभावशाली भूमिकामा देखिँदैछन्। आफूले निभाएको पात्रबारे उनले भनेका छन्, “एक यस्तो पात्र, जो केवल कथा भित्र सीमित छैन, उसले आफ्नो समाजलाई परिभाषित गरेको छ।”

यसअघि अभिनेता समीर भट्ट र अभिनेत्री कविता रायको क्यारेक्टर पोस्टर सार्वजनिक भइसकेको छ। साथै, अभिनेता सौगात मल्लको रहस्यमय अवतारमा प्रस्तुत पोस्टर र समीर भट्टको जन्मदिनको अवसरमा सार्वजनिक गरिएको प्रि–टिजरले पनि सामाजिक सञ्जालमा चर्चा बटुल्न सफल भएको थियो।

सिनेमाको प्रचारप्रसारलाई अझ प्रभावशाली बनाउँदै निर्माण पक्षले देशभर ‘बलिदान ब्यानर’ अभियान सञ्चालन गरेको छ, जसअन्तर्गत विभिन्न स्थानहरूमा विशाल ब्यानरहरू राखिएका छन्।

*‘बलिदान’*लाई फरक कथावस्तु, सशक्त प्रस्तुतिकरण र भावनात्मक गहिराइका साथ नेपाली सिनेमाको नयाँ उचाइमा पुर्‍याउने लक्ष्य लिएको निर्देशक सेन बताउँछन्।

‘आसुसेन फिल्म्स प्रा.लि.’को प्रस्तुति रहेको सिनेमाका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने कार्यकारी निर्माता प्रेम पुरी रहेका छन्।