
विराटनगर/ दक्षिण अफ्रिकाको पूर्वी क्षेत्रमा आएको बाढीका कारण हालसम्म ४९ जनाको मृत्यु भएको छ। मुसलधारे वर्षाका कारण पहिरो जाँदा सयौं परिवार घरबारविहीन भएका छन् भने पूर्वाधारहरूमा समेत ठूलो क्षति पुगेको छ।
पूर्वी केपका प्रमुख लुबाबालो ओस्कर माबुयानका अनुसार प्रभावित सबै क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी छ।
बाढीले एक विद्यालय बस समेत बगाउँदा त्यसमा रहेका चार बालबालिकाको ज्यान गएको छ भने अन्य चार जना बेपत्ता छन्। उनीहरूको खोजी कार्य भइरहेको जनाइएको छ।
पछिल्लो एक हप्तादेखि परेको भीषण वर्षाका कारण पूर्वी केप प्रान्तका विभिन्न क्षेत्रमा पहिरो र डुवानको समस्या चुलिएको छ। सयौं परिवारहरू सुरक्षित स्थानतर्फ विस्थापित भएका छन्।
बीबीसीले उल्लेख गरेअनुसार भारी वर्षासँगै आएको हिमपात र चिसो वायुले पूर्वी केप प्रान्तका धेरै क्षेत्रमा जनजीवन प्रभावित पारेको छ।
स्थानिय प्रशासनले क्षतिको पूर्ण विवरण संकलन भइरहेको जनाएको छ भने थप वर्षाको सम्भावनाका कारण सतर्कता अपनाउन जनतालाई आग्रह गरेको छ।