
विराटनगर । भारतबाट लागुऔषध ब्राउनसुगर लिएर नेपाल प्रवेश गरेका दुई भारतीय नागरिक विराटनगरमा पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले बिहीबार विराटनगर महानगरपालिका–१५, रानीस्थित जानकी मन्दिर अगाडिबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। उक्त स्थान भारतीय सीमा नजिकै पर्छ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य, अररिया जिल्ला, फारबिसगञ्ज थाना अन्तर्गत रामपुर पञ्चायत–२ का ३५ वर्षीय मो सिकंदर बाखत र सोही पञ्चायत–१० का ३५ वर्षीय सरफराज रहेका छन्। उनीहरू ब्राउनसुगर पुर्याउनका लागि विराटनगर आएका थिए।
शंकास्पद रूपमा हिँडिरहेका उनीहरूलाई रोकी खानतलासी गर्दा मो सिकंदर बाखतको साथमा सेतो प्लास्टिकमा राखिएको ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ। बरामद ब्राउनसुगरको तौल प्लास्टिकसहित १५० ग्राम र प्लास्टिक बाहेक १४१ ग्राम रहेको पाइएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा दुवैले भारतबाट लागुऔषध ल्याई नेपालमा बिक्री वितरण गर्दै आएको स्वीकार गरेको प्रहरीले जनाएको छ। हाल उनीहरूलाई थप अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाइएको छ।