
विराटनगर। पाकिस्तानका २४ वर्षीय युवा ब्याट्सम्यान हैदर अली बलात्कारको आरोपमा इंग्ल्याण्डमा पक्राउ परेका छन्। घटना गत ३ अगस्टको हो र अहिले सार्वजनिक भएको छ। टेलिकम एसिया स्पोर्ट्सको रिपोर्ट अनुसार हैदर अली पाकिस्तान ए टिम (पाकिस्तान शाहिन) का सदस्य हुन्।
अर्को जानकारीअनुसार हैदरले क्यान्टरबरी मैदानमा मेलबर्न क्रिकेट क्लब टिमविरुद्ध खेलिरहेको बेला ग्रेटर म्यानचेस्टर प्रहरीले उनलाई मैदानबाटै पक्राउ गरेको थियो। पछि उनी जमानतमा रिहा भए तापनि देश छोड्न नपाउने गरी उनको राहदानी जफत गरिएको छ।
यस घटनापछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले हैदर अलीलाई अनुसन्धान पूरा नभएसम्म निलम्बन गरेको जनाएको छ। पीसीबीका प्रवक्ताले भने, “हामीलाई गिरफ्तारीको जानकारी दिइएको थियो। अनुसन्धान जारी रहँदा हैदरलाई निलम्बन गरिएको छ र हामी बेलायतमा पनि आफ्नै अनुसन्धान गर्नेछौं। बोर्डले उनको कानुनी सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।”
रिपोर्टअनुसार, हैदरमाथि आरोप लगाउने युवती पाकिस्तानी मूलकी रहेको बताइएको छ।
यो घटनाले क्रिकेट क्षेत्रमा ठूलो चर्चा पाएको छ र आगामी अनुसन्धानलाई सबैको ध्यान केन्द्रित छ।