कोशेढुङ्गा’को पब्लिसिटीमा नयाँ मोड : कविता र पोस्टर सार्वजनिक

विराटनगर । बहुप्रतिक्षित नेपाली सिनेमा ‘कोशेढुङ्गा’ ले आफ्नो प्रचार–प्रसारलाई तीव्र पारेको छ। पब्लिसिटीलाई थप प्रभावकारी बनाउन निर्माण टिमले प्रेम, समर्पण, विछोड, पीडा, सपना र संकल्पलाई समेटेको एक कविता सार्वजनिक गरेको हो, जसको वाचन सिनेमाकी मुख्य अभिनेत्री सुरक्षा पन्तले गरेकी छन्।

लिरिकल भिडियोसहित सार्वजनिक उक्त कवितामा सिनेमाका केही फुटेज र स्टिल फोटो समावेश छन्। कविताले टुट्दै गएको सपना, सम्झौतामा बाँच्न थालेको जिन्दगी, सम्बन्धमा गरिने विश्वास र पर्खिँदै बस्ने परिवारको भावनात्मक चित्रण गरेको छ। निर्देशक सरोज पौडेलका अनुसार कथा किस्ताबार क्रमशः खुल्नेछ।

यससँगै निर्माण पक्षले तीनवटा पोस्टर पनि सार्वजनिक गरेको छ।

पहिलो पोस्टरमा सुरक्षा पन्त, आर्यन सिक्देल, प्रवीण खतिवडा, मन्जिल कुमार, नीति शाह, ऋचा शर्मा र दिनेश काफ्ले छन्। दोस्रो पोस्टरमा प्रवीण खतिवडा, दिनेश काफ्ले र झकेन बिसी देखिएका छन्। तेस्रो पोस्टरमा सुरक्षा पन्त र मन्जिल कुमार फिचर्ड छन्, जसमा सुरक्षाले भारी बोकेकी छन् र मन्जिलले कसैलाई हेरिरहेका छन्।

केही दिनअघि ‘कोशेढुङ्गा’ले प्रेमिल गीत ‘भंगेरा भगेरी’ सार्वजनिक गरेको थियो। त्यसअघि ‘नत्र भने जिन्दगी व्यर्थ छ’ बोलको गीत सार्वजनिक भइसकेको छ, जुन टिकटकमा लोकप्रिय बनेको छ।

सरोज पौडेल निर्देशित ‘कोशेढुङ्गा’ भदौ १२ गते रिलिज हुँदैछ। ‘पूर्ण बहादुरको सारंगी’ निर्देशन गरेका पौडेलको यो दोस्रो निर्देशन हो, जसले दर्शकमाझ अपेक्षा बढाएको छ। नरदेवी फिल्मसको प्रस्तुति र सारंगी फिल्मसको सहकार्यमा बनेको यो सिनेमामा सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटा लगायतका कलाकारको अभिनय रहेको छ।

निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन् भने कार्यकारी निर्माता दिनेश खड्का हुन्। बाबु श्रेष्ठको छायांकन, नहकुल खड्काको सम्पादन, आशिष अविरल, खेम सेन्चुरी र रिदम कँडेलको संगीत रहेको छ।

‘कोशेढुङ्गा’ नेपालसहित ४२ भन्दा बढी देशमा एकैसाथ प्रदर्शन हुने भएको छ। अन्तर्राष्ट्रिय वितरण सेभेन सिज इन्टरनेसनल मार्फत प्याट्रिक सुवेदी र रमेश ढकालले गर्नेछन्। नेपाली सिनेमाको इतिहासमै पहिलो पटक यति धेरै देशमा एकसाथ प्रदर्शन हुँदै भएकाले यसले नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइमा पुर्याउने निर्माण टिमको अपेक्षा छ।

भिडियो हेर्नुहोस,