देशभर मनसुनको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

विराटनगर । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराई भू-भागमा अवस्थित छ। देशभर मनसुन सक्रिय रहे पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

विभागका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। दिउँसो पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही तथा मधेश प्रदेशसहित देशका बाँकी पहाडी र तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।

राति देशभर साधारणतया बदली रहने पूर्वानुमान छ। मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा तराई भू-भागका धेरै स्थानमा र अन्य प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। साथै, कोशी प्रदेशको पहाडी भू-भाग, मधेश प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका थोरै स्थानमा भारी वर्षा हुने संभावना विभागले जनाएको छ।

मनसुनको सक्रियता जारी रहेकाले विभागले पछिल्लो मौसमी अपडेट लिन र आवश्यक सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ।