टर्कीमा ६.१ म्याग्निच्युडको भूकम्प, एक महिलाको मृत्यु

विराटनगर । टर्कीको उत्तरपश्चिमी प्रान्त बाल्केसिरमा आइतबार साँझ गएको ६.१ म्याग्निच्युडको भूकम्पमा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुने ८१ वर्षीया महिलालाई भग्नावशेषबाट उद्धार गरिएको थियो, तर केही समयमै उनको मृत्यु भएको हो।

टर्कीका गृहमन्त्री अली येर्लिकायाका अनुसार भूकम्पको केन्द्रबिन्दु सिन्दिरगी सहर रहेको छ। भूकम्पका कारण १६ वटा भवन भत्किएका छन् भने २९ जना घाइते भएका छन्। घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ।

स्थानीय प्रशासनले उद्धार तथा राहत कार्यलाई तीव्र पारेको छ भने प्रभावित क्षेत्रमा आपत्कालीन सेवा टोली परिचालन गरिएको छ।