
विराटनगर । ‘हरे कृष्ण’ आन्दोलनअन्तर्गत स्थापित कृष्ण लाईफ संस्थाले यस वर्ष पनि विराटनगरमा भव्य श्रीकृष्ण जन्माष्टमी महोत्सवको आयोजना गर्ने भएको छ।
संस्थाका अनुसार महोत्सव आगामी श्रावण ३१ गते (२०८२/०४/३१) शनिबारका दिन बिहान ४ बजेदेखि मध्यरात १ बजेसम्म सिटी पार्टी होटल एण्ड रिसोर्ट, न्यूरो गल्लि, विराटनगर–०९ मा हुने छ।
कार्यक्रममा कीर्तन, प्रवचन, यज्ञ, नाटक, मध्यरातमा महाआरती, सांस्कृतिक प्रस्तुति र निःशुल्क प्रसाद वितरण जस्ता विविध धार्मिक तथा सांस्कृतिक गतिविधिहरू हुने छन्। महोत्सवमा कोशी प्रदेशका प्रदेश प्रमुख, सभामुख, नगर प्रमुख, नगर उप–प्रमुखलगायत उच्च पदस्थ व्यक्तिहरूलाई प्रमुख आतिथ्यका रूपमा आमन्त्रण गरिएको छ।
संस्था ब्रहमाजी, नारदमुनि, व्यासदेव, मध्वाचार्य, श्रीचैतन्य महाप्रभु लगायतका आचार्यहरूको वैदिक शिक्षामा आधारित गुरुः–शिष्य परम्परा तथा ए.सी. भक्तिवेदान्त स्वामी प्रभुपादको शिक्षा, नीति र निर्देशनमा सञ्चालन हुँदै आएको हो। यसको उद्देश्य श्रीमद्भगवद्गीता, श्रीमद्भागवत, महाभारत, रामायणलगायत वैदिक सनातन धर्मग्रन्थहरूको ज्ञानलाई समाजमा बिना भेदभाव प्रचार–प्रसार गर्नु रहेको छ।
यस संस्थाका संरक्षक श्रद्धेय बाल ब्रह्मचारी भक्तिसिद्धान्त दासले नेपालको भूमिमा पहिलोपटक हरे कृष्ण आन्दोलनको सुरुवात गरेका हुन्। धार्मिक अध्ययनमा स्नातक तहसम्म अध्ययन गरेका युवा धर्म प्रचारक श्रद्धेय सिद्धस्वरूप दास ब्रह्मचारी, मनःशिक्षा दास ब्रह्मचारी तथा वरिष्ठ भक्त विपिन बिहारी दासको पहलमा संस्था स्थापना भएको हो।
श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट अर्थात् भदौ १ गते राधाकृष्ण मन्दिरद्वारा आयोजना हुने रथयात्रा कार्यक्रममा पनि संस्थाले सहभागिता जनाउने र आफ्नो कार्यालय अगाडि निःशुल्क प्रसाद वितरण गर्ने जनाएको छ।
पत्रकार सम्मेलनमा बोल्दै आयोजकले महोत्सवमा देश–विदेशका भक्तजनहरूको सहभागिता रहने विश्वास व्यक्त गर्दै सम्पूर्ण भक्तजन, श्रद्धालु र सञ्चारकर्मीलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्।