
विराटनगर । आर्थिक वर्ष २०८१/८२ मा पाँचथरमा लडेर २५ जनाले ज्यान गुमाएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार गत आवमा ज्यान गुमाउनेमध्ये सबैभन्दा धेरै घटना लडेर मृत्यु हुनेका रहेका छन्।
विशेषगरी ग्रामीण क्षेत्रमा रातको समयमा पैदलयात्रा गर्ने क्रममा लड्ने घटनामा वृद्धि भएको छ। मेलापात, गाउँघर वा छरछिमेकबाट घर फर्कँदा अँध्यारोमा ठेस लाग्ने, बाटो चिप्लिने वा खस्ने कारण धेरैको ज्यान गएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी कौशलकुमार बुढाथोकीका अनुसार मादकपदार्थ सेवन गरेर पैदलयात्रा गर्दा दुर्घटनाको जोखिम अझ बढ्ने गरेको छ। घाँसदाउरा गर्न वा पशु चराउन गएकाहरू पनि कहिलेकाहीँ अचानक लडेर ज्यान गुमाउने गरेका छन्।
उद्धार तथा उपचारमा ढिलाइ हुने, ग्रामीण क्षेत्रमा स्वास्थ्य सुविधा तथा यातायात सहज नहुनुजस्ता कारणले पनि मृत्यु दर उच्च भएको प्रहरीको भनाइ छ।