
विराटनगर । काठमाडौं महानगरपालिकाले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाटलाई २ लाख रुपैयाँसहित सम्मान गरेको छ। यस्तै, प्रथम खोखो विश्वकप २०२५ मा उपविजेता बनेका महिला र पुरुष टोलीलाई ११–११ लाख रुपैयाँ गरी जम्मा २२ लाखको चेकसहित सम्मान गरिएको छ। खोखोको रकम व्यवस्थापन नेपाल खोखो संघले गर्नेछ।
सामाजिक विकास समितिको सिफारिसमा आयोजित सम्मान कार्यक्रममा महानगरका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा सामाजिक विकास समितिका संयोजकलगायतको उपस्थिति थियो। कार्यक्रममा संयोजक रामकुमार केसीले यस्ता खेलले नेपालको शिर ठाडो बनाएको उल्लेख गर्दै महानगरले भविष्यमा पनि राष्ट्रिय टोलीलाई निरन्तर सम्मान गर्ने प्रतिवद्धता जनाए।
भारतको नोएडामा भएको एमएफएन १७ मा बान्टमवेट च्याम्पियन बनेका ढाटले सम्मान ग्रहणपछि महानगरको यो कदमले आफूलाई थप हौसला मिलेको बताए। “अब आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्ने कोसिस गर्नेछु,” उनले भने।
त्यस्तै, खोखो पुरुष टोलीले नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा भएको फाइनलमा आयोजक भारतसँग ५४–३६ को अन्तरले पराजय ब्यहोरेको थियो। टोलीका कप्तानले सम्मानले खेलाडीको उत्साह बढाएको भन्दै धन्यवाद व्यक्त गरे।