बाल सुधार गृह विराटनगरमा दोहोरो झडप, प्रशासन कक्षमा तोडफोड

विराटनगर । मोरङको विराटनगरस्थित बाल सुधार गृहमा भएको दोहोरो झडपका कारण प्रशासन समेत बाहिर निस्कनुपर्ने स्थिति उत्पन्न भएको छ।

वार्डेन गायत्रीप्रसाद ढकालका अनुसार सामान्य विषयमा प्रहरी र प्रशासनले किशोरहरुलाई सम्झाउने प्रयास गर्दा उनीहरू हुल बाँधेर आक्रमणमा उत्रिए। आक्रमणसँगै प्रशासन कक्षमा तोडफोड र ढुंगामुढा भएको थियो। घटनामा प्रहरी वरिष्ठ हवल्दार हिरनकुमार मण्डल घाइते भएका छन्।

५० जनाको क्षमता भएको बाल सुधार गृहमा हाल २४९ जना राखिएका छन्। कानुन अनुसार १८ वर्षभन्दा कम उमेरका बालबालिका मात्र राखिनुपर्ने भए पनि, कसुर अनुसारको कैद भुक्तान नसकेका १८ वर्ष कटेका कैदीसमेत राखिनुपर्ने बाध्यताले निरन्तर तनावको वातावरण सिर्जना भइरहेको ढकालले बताए।

घटनापछि प्रहरीमाथि समेत आक्रमण भएको थियो। अहिले सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरेर स्थिति नियन्त्रणमा लिइएको भए पनि अवस्था पूर्ण रूपमा शान्त नभएको वार्डेनले बताएका छन्। “हामी अहिले बाहिरै छौं,” ढकालले भने।