
विराटनगर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अन्तर्राष्ट्रिय टर्मिनल भवनमा दिँदै आएको भिजिटर पास वितरण बन्द गरेको छ।
विमानस्थलमा भिजिटर पासका लागि भनसुनको चलन बढेको र पहुँच नभएका व्यक्तिले सुविधा नपाएको गुनासो आएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले यो सेवा रोक्ने निर्णय गरेको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुविधादेय समितिको निर्णयअनुसार साउन २७ गतेदेखि अन्तर्राष्ट्रिय टर्मिनल ड्युटी अफिसमार्फत हुँदै आएको भिजिटर पास वितरण बन्द गरिएको छ।
कार्यालयले जारी गरेको सार्वजनिक सूचनामा व्यक्तिगत सहयोग आवश्यक पर्ने वृद्धवृद्धा, शारीरिक रूपमा फरक क्षमता भएका व्यक्ति, गर्भवती महिला र नाबालक यात्रुका लागि सहायता कक्षको व्यवस्था गरिएको उल्लेख छ। त्यस्तै, ह्विलचेयरलगायत विशेष सहयोग चाहिने यात्रुलाई सम्बन्धित वायुसेवा कम्पनीमार्फत सुविधा प्रदान गरिने जनाएको छ।
यात्रुहरुलाई आफ्नो सामान ‘चेक–इन’ संख्या र अधिकतम तौल सीमा हवाई टिकटमा उल्लिखित व्यवस्थाअनुसार पालना गर्न पनि अनुरोध गरिएको छ।