विराटनगरमा बसको ठक्करबाट वृद्धको मृत्यु

विराटनगर । मोरङको विराटनगरमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। विराटनगर महानगरपालिका–४ पिपल चोकमा बुधबार दिउँसो भएको दुर्घटनामा विराटनगर–५ का ९२ वर्षीय दिलबहादुर खत्रीको ज्यान गएको हो।

मोरङ ट्राफिक प्रहरी प्रमुख, प्रहरी इन्स्पेक्टर राजन लम्सालका अनुसार विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४७०५ नम्बरको बसले सडक पार गरिरहेका खत्रीलाई ठक्कर दिएको थियो।

ठक्करपछि गम्भीर घाइते भएका खत्रीलाई उपचारका लागि तत्काल विराट नर्सिङ होम लगिएको थियो। तर, अस्पताल पुग्नेबित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

दुर्घटनापछि बस चालक टेकबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।