
विराटनगर । निर्माण तयारीमा रहेको सिनेमा ‘पार्वती’ मा अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला औपचारिक रूपमा अनुबन्धित भएकी छन्। मंगलबार सिनेमाको निर्माण टिमले उनलाई कागजी सम्झौतासहित अनुबन्ध गरेको हो।
सिनेमाकी निर्देशक तथा मुख्य अभिनेत्री निता ढुंगाना अधिकारीका अनुसार दीपाश्रीसँग मौखिक सहमति भएपनि मंगलबार मात्र औपचारिक प्रक्रिया पूरा भएको हो। ‘हामीबीच सल्लाह सुझाव हुँदै आएको थियो, मौखिक रूपमा हामी ओके थियो,’ निताले भनिन्, ‘आज चाहिँ फाइनल भएको छ दिदी। मेरो प्रोजेक्टमा दिदी हुनु मेरो लागि ठुलो कुरा हो।’
अनुबंधपछि दीपाश्रीले १२ वर्षअघिको सहकार्य सम्झिन्। ‘वि.स. २०७० सालमा छ एकान छ मा मैले नीतालाई सहयोग गरेकी थिएँ,’ उनले भनिन्, ‘१२ वर्षपछि उनले मलाई पार्वती मा लिड रोल दिएकी छन्। साउन महिना, शिव–पार्वतीसँग सम्बन्धित महिना र पार्वतीजस्तो सिनेमामा मुख्य भूमिकाको मौका पाउनु विशेष हो।’
यो भन्दा अघि, चर्चित डान्स ग्रुप ‘कार्टुन्ज क्रू’का सरोज अधिकारीलाई सिनेमाको सहायक निर्देशकका रूपमा अनुबन्ध गरिएको थियो। असोजदेखि छायांकन सुरु हुने सिनेमाका दुई पोस्टर सार्वजनिक भइसकेका छन्। निर्माण टिमले गत शनिबार प्रदर्शन मिति माघ १ गते पनि घोषणा गरिसकेको छ।
सिनेमाको कथा नीताले लेखेकी हुन् भने पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका हुन्। छायांकन कविर लाल र शाहिद लालले गर्नेछन्। लगानी सावित्रा अधिकारी, नरहरी अधिकारी र पवन ढुंगानाले गरेका छन्। उपत्यकाभित्र रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट, तथा उपत्यकाबाहिर एफडी कम्पनीले वितरण गर्नेछन्।
नीताले यसअघि ह्रस्वदीर्घ मार्फत निर्माणमा हात हालेकी थिइन्। यसपटक उनले पार्वती र सुख–दुःख दुवै सिनेमाको निर्देशन गर्ने तयारी गरेकी छन्।