पश्चिम नेपालतर्फ मनसुन सक्रिय, बाढी–पहिरोको उच्च जोखिम

विराटनगर । मनसुनको न्यून चापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराईभन्दा केही दक्षिणतिर रहेकाले आगामी २४ घण्टामा पूर्वी भू–भागभन्दा पश्चिम नेपालतर्फ मनसुन बढी सक्रिय रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशभर पूर्णतया बदली छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ। दिउँसो पनि देशभर साधारणतया बदली रहने र कर्णाली, सुदूरपश्चिमका पहाडी भू–भाग तथा मधेशसहितका तराईका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागमा एक–दुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ।

राति पनि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भू–भागका केही स्थानमा तथा मधेशलगायतका बाँकी पहाडी र तराई भू–भागमा मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशको पहाडी भू–भागमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्छ।

महाशाखाले गण्डकी, लुम्बिनीका पहाडी भू–भाग, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्र, साथै कर्णालीका पहाडी भू–भागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ। यसले भू–क्षय, बाढी, पहिरो, गेग्रान बहाव तथा शहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढाउने चेतावनी दिइएको छ। ठूला–साना नदी–नाला र खोलामा पानीको सतह बढ्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, निर्माण कार्य तथा सडक र हवाई यातायात प्रभावित हुने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।