लागूऔषधसहित १० जना पक्राउ, ठूलो मात्रामा ब्राउन सुगर बरामद।

विराटनगर । झापा, मोरङ सुनसरीबाट प्रहरीले विशेष अभियान सञ्चालन गर्दै साउन २८ गते प्रतिबन्धित लागूऔषधसहित १० जनालाई पक्राउ गरेको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिका–११ स्थितबाट खटिएको प्रहरी टोलीले ट्रामाडोल १ हजार २६० क्याप्सुल र डीकोलिक ५१० क्याप्सुलसहित ४ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सुन्दरहरैंचा–७ का २४ वर्षीय सलमान मंसुरी, इटहरी–११ का १८ वर्षीय करण राई, इटहरी–१४ का २२ वर्षीय कोरुजित सरदार र सिरहा निवासी २४ वर्षीय होम मुखिया छन् ।

झापामा, प्रहरी बिट मेचीपुलले भद्रपुर–९ का २१ वर्षीय बिमल विश्वकर्मालाई २.०१ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । त्यस्तै, इलाका प्रहरी कार्यालय कुमरखोदले भारत बिहार किसनगञ्जका १९ वर्षीय मो. जमिरुललाई प्रतिबन्धित ट्याब्लेटसहित तथा कन्काई नगरपालिका–३ का २६ वर्षीय सुभास बर्देवालाई ३.५ ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ ।

विराटनगरमा लागूऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय रानीको टोलीले विराटनगर–१३ स्थितबाट भारत अररिया जोगबनीका ३९ वर्षीय अहमद अली, ५१ वर्षीय मो. सराजुल र ३५ वर्षीया रुबी खातुनलाई १०८ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । प्रहरीका अनुसार सबै घटनामा अनुसन्धान अघि बढाइएको छ ।