सर्लाहीमा शिक्षकको गोली हानी हत्या, एक अभियुक्त पक्राउ

विराटनगर । सर्लाहीमा एक जना शिक्षकको गोली हानी हत्या भएको छ। जिल्लाको बरहथवा नगरपालिका–८ का शिक्षक रामपुकार यादवलाई अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार राति करिब साढे ८ बजेतिर घर अगाडि बसेका बेला मोटरसाइकलमा आएका हतियारधारीले यादवमाथि गोली प्रहार गरी फरार भएका थिए। टाउकोमा गोली लागेर गम्भीर घाइते भएका यादवलाई उपचारका लागि महोत्तरीको रामगोपालपुरस्थित जानकी एकेडेमिक अस्पताल ल्याइँदै गर्दा बाटैमा मृत्यु भएको थियो।

गोली प्रहार गरी भाग्ने क्रममा मोटरसाइकल दुर्घटनामा परेका एक व्यक्ति प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका व्यक्ति गम्भीर घाइते भएको र उनलाई सर्लाहीको लालबन्दीस्थित मोडेल अस्पतालमा उपचारपछि थप उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज राईले जानकारी दिए।

घटनामा संलग्न अन्य केही व्यक्ति भने फरार रहेका छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।