
विराटनगर । सरदर स्थानभन्दा दक्षिणतर्फ मनसुनको न्यून चापीय रेखा रहेकाले नेपालमा हाल मनसुनको सक्रियता कमजोर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागमा साधारणतया बदली रहनेछ भने अन्य क्षेत्रहरूमा आंशिक बदलीको अवस्था रहनेछ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू–भागसहित अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा र तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।
त्यसैगरी आज राति कोशी र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रहने र बाँकी भू–भागमा आंशिक बदली हुने पूर्वानुमान गरिएको छ। कोशी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू–भागसहित अन्य पहाडी क्षेत्रमा पनि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।