विराटनगरमा आज श्रीराधाकृष्ण रथयात्रा निकालिंदै

विराटनगरमा आज श्रीराधाकृष्ण रथयात्रा निकालिंदैछ । तीनपैनीस्थित राधाकृष्ण मन्दिर परिसरबाट आज दिउँसो ४ बजेपछि नगर परिक्रमाकालागि रथ निकालिनेछ ।

प्रत्येक बर्ष कृष्ण जन्माष्टमीको भोलीपल्ट विराटनगरमा भब्य रथयात्रा आयोजनागर्ने गरिएको छ ।

विराटनगर १ पानीटंकीस्थित श्रीराधाकृष्ण मन्दिर परिसरबाट ९२ बर्ष अघि खट्यात्रा शुरु भएको थियो । शुरुआतको ३७ बर्षसम्म खट्यात्रा र त्यसयता रथयात्रा निकाल्ने गरिएपनि २०७७ र ७८ सालमा कोरोना संक्रमणको तीब्रताको कारण दुईपटकसम्म रथयात्रा स्थगन गरिएको थियो । सो समयमा औपचारिकता मात्र निर्वाह गर्नेगरि सर्वसाधारणलाई जानकारी नदिई गाडीमा खट राखेर बजार परिक्रमा गराईएको थियो भने बितेकोबर्ष झाँकी विहीन रथ निकालिएको थियो ।

यसबर्ष भने समय अनुकुल रहेकाले झाँकी रयालीसहित रथ निकाल्न लागिएको हो । विक्रमसम्बत १९७६ सालमा साबिकको ग्रोग्राहालाई विराटनगर नामांकरण गरिएयता १९८८ सालमा पहिलोपट खट्यात्रा निकालिएको थियो । सो समयमा भगवान श्रीराधाकृष्णको मुर्तीलाई खटमा राखी काँधमा बोकेर नगर परिक्रमा गराउने गरिएको थियो ।

शुरुशुरुमा श्रीराधाकृष्णको युगल जोडीलाई खटमैं नगरपरिक्रमा गराउने गरिएकोमा विक्रम सम्बत २०२५ सालबाट खट्यात्रालाई आधुनिक रथयात्रामा रुपान्तरण गरिएको थियो । यद्यपि हालसम्मपनि रथ संगसंगै खटयात्रापनि निकाल्ने गरिएको छ ।