राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित युवक पक्राउ

विराटनगर । राजविराज विमानस्थलबाट ठूलो मात्रामा विदेशी मुद्रासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका–११ का ३३ वर्षीय मोहमद खुर्सिद आलम रहेका छन्।

प्रहरी उपरीक्षक गौतमकुमार केसीका अनुसार आलम बुद्ध एयरको जहाजमार्फत राजविराजबाट काठमाडौं जान लागेका थिए। विमानस्थलमा नियमित चेकजाँचका क्रममा प्रहरीले उनीसँग स्रोत नखुलेको साउदी रियाल ३५ हजार ९७६ फेला पारेको हो।

उक्त रकमको वैधता प्रमाणित गर्न नसकेपछि आलमलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। बरामद रकमसहित उनलाई आन्तरिक राजस्व कार्यालय इटहरीमा बुझाउने तयारी भइरहेको उपरीक्षक केसीले जानकारी दिए।